neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल दूरसञ्चार प्राधिकरणद्वारा सिमकार्ड/रिमकार्ड बिक्रीवितरणमा कडाइ

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा सिमकार्ड/रिमकार्ड बिक्रीवितरणमा कडाइ

Apr 7th, 2022

काठमाडौँ, २४ चैत /रासस

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो ।सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र्र बिक्री वितरण भनेको हो ।

“मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड/रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएको छ । मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक फारम भर्न लगाइ र विवरण रुजु गरेर मात्र सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्नुहुन अनुरोध छ”, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड÷रिमकार्ड खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ । निर्देशन बमोजिम सिमकार्ड तथा रिमकार्ड खरिद बिक्री नभएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।