neapl investment mega bank
  • गृहपृष्ठ
  • गाउँपालिका अध्यक्ष सहित २७ जना विरुद्ध ४ करोड २१ लाख भ्रष्टाचार मुद्दा

गाउँपालिका अध्यक्ष सहित २७ जना विरुद्ध ४ करोड २१ लाख भ्रष्टाचार मुद्दा

Mar 31st, 2022

आधारभूमि संवाददाता

काठमाडौ १७ चैत

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का भ्रष्टाचारमा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्का सहित सहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरु विरुद्ध विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले लिखु तामाकोशी गाउँपालिका रामेछापका अध्यक्षसमेतको मिलेमतोमा विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा उनीहरुले मिलेमतोमा गैरकानुनी लाभ पु¥याउने र सरकारी रकममा हानीनोक्सानी पु¥याउने बदनियतले कार्य गरेको पाइएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुले ४ करोड २१ लाख ७०६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।

लिखु तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु राजु प्रसाद न्यौपाने र टंक प्रसाद चौलागाई र लेखापाल दुर्गा बहादुर डिम्दोङ तामाङ विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

यसैगरी भ्रष्टाचार मुद्दामा पर्नेहरमा विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका–५ (साविक नागदह गाविस १–५) का अध्यक्ष वेत बहादुर पुँवार, कोषाध्यक्ष ममीता श्रेष्ठ, सचिव सुब्बा थापामगर, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका–५ (साविक नागदह गाविस ६–) का अध्यक्ष सुन बहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार, सचिव दल बहादुर तामाङ र विद्युतीकरण उपभोक्ता समिति लिखु गाउँपालिका–४, (साविक विजुलीकोट) का अध्यक्ष होम बहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्ली बहादुर सुनुवार रहेको अख्तियारले जनाएको छ ।

बिहीबार दाबी गरिएको मुद्दामा लिुख तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कासँग ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो दाबी गरिएको छ । सोही गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत टंक प्रसाद चौलागाईसँग ३ करोड ८ लाख १८ हजार ५२८ रुपैयाँ बिगो दाबी गरिएको छ ।