neapl investment mega bank
  • गृहपृष्ठ
  • एमसिसीका विषयमा छरिएको भ्रमका पछि नलाग्न सञ्चारमन्त्रीको आग्रह

एमसिसीका विषयमा छरिएको भ्रमका पछि नलाग्न सञ्चारमन्त्रीको आग्रह

Mar 26th, 2022

इनरुवा, १२ चैत /रासस

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना विकास परियोजना भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं ४ सुनसरीले कोसी गाउँपालिकामा आयोजना गरेको ‘घर–घर जाउँ, कांग्रेस जिताउ’ अभियान कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले एमसिसी परियोजनाका विषयमा छरिएको भ्रममा कुनै किसिमको सत्यता नभएका कारणले त्यसको पछि नलाग्नका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उक्त परियोजना केवल विकास परियोजना भएको र यसमा आउने अनुदान रकमबाट पूर्वाधार विकास, सडक र विद्युतको ट्रान्समिसनलाइन विस्तारमा खर्च हुने भएकाले यो केवल विकास परियोजना मात्र भएको मन्त्री कार्कीले बताउनुभयो ।

एमसिसी परियोजनाबाट ७७ किलोमिटर अन्तर्राष्ट्रियस्तरको बाटो निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । गरिबी निवारण गरेर देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले एमसिसीका कारणले अमेरिकन सेना आउने भन्ने भ्रममा कुनै किसिमिको सत्यता नभएको जनाउँदै यसले मुलुकको समृद्धिका लागि ढोका खोल्ने कार्य गरेको बताउनुभयो । मन्त्री कार्कीले एमसिसी परियोजना मुलुक, नेपाली जनता र राष्ट्रको हितमा रहेको दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा सङ्घीय सांसद सीताराम मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, कोसी गाउँपाकिलका सभापति अयुव अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहतालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्या गरेर सयाँै नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।