neapl investment mega bank
  • गृहपृष्ठ
  • के छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा ?

के छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा ?

Mar 23rd, 2022

आधारभूमि संवाददाता

काठमाडौ ९ चैत

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बसेको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । बुधबारदेखि राजधानीको सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पेश गरेको प्रतिवेदनमा संगठनात्मक सुदृढीकरण र पार्टी काममा तीव्रता दिने र पार्टीलाई चुनावमा पहिलो शक्ति बनाउने उल्लेख छ ।

ओलीले चुनावको मिति घोषणा भइसकेको र निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको सन्दर्भमा निर्वाचनसम्मका लागि पार्टीको कामको केन्द्रबिन्दु निर्वाचनको तयारी र त्यसमा पार्टीको विजय सुनिश्चित गर्नु भएको बताएका छन् ।

ओलीले स्थानीय चुनावमा १८ बुँदामा एमालेको विजयका आधारमा मुख्य आधार समेटेका छन् । साथै गठबन्धनको आलोचना र एमसीसीबारे पनि पार्टीको धारणा राखेका छन् । प्रतिवेदनमार्फत ओलीले एमसीसी स्वीकार्दै अब यसमा विवाद गर्न नहुने बताएका छन् ।

‘विगतमा निर्वाचन र सो भन्दा अगाडिदेखि नै नेकपा एमालेका विरुद्ध भ्रमपूर्ण प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई मधेसमा एमालेप्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ’ प्रतिवेदनमा भनिएको छ ।

तराई मधेसका जिल्लाहरुमा एमालेप्रति बढेको आकर्षणले ‘राष्ट्रिय राजनीतिबाट जातीय क्षेत्रीय संकीर्णता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न र राष्ट्रिय एकतालाई अझ खँदिलो बनाउन पनि ठूलो सहयोग पुग्ने’ दाबी गरिएको छ ।

ओलीले पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेको विषयलाई ‘खास अर्थ र सन्देश’ रुपमा लिनुपर्ने निर्देशनसमेत दिएका छन । ‘सत्ता स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्व ९प्रचण्ड० प्रति मोहभंग भएर त्यसबाट अलग हुँदै एमालेमा आबद्ध हुने जुन राष्ट्रब्यापी लहर चलेको छ, यसको खास अर्थ र सन्देश छ’ प्रतिवेदनमा उल्लेख छ ।