neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शान्तिसुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री खाँण

शान्तिसुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री खाँण

Mar 23rd, 2022

चन्द्रौटा, ९ चैत /रासस

गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताउनुभएको छ । देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको कामप्रति उच्च मूल्याङ्कन गरिएको बताउनुभयो ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयको उद्घाटन गर्दै खाँणले सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनका लागि सरकारले तयारी गरिरहेको बताउनुभयो । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले एमसिसी राष्ट्रको हितमा रहेको भन्दै सेना आउनेमा कुनै सत्यता नरहेको बताउनुभयो । मन्त्री खाँणले स्थानीय तहको निर्वाचन नजिकिँदै गएकाले निर्वाचनलाई सभ्य रुपमा सम्पन्न गर्न भएकाले यसमा सुरक्षाकर्मीको भूमिका उल्लेखनीय हुने बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा शान्तिसुरक्षाको विश्वसनीय वातावरण बनाउन थप बोर्डर आउट पोष्ट स्थापना गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशमा ४१ विओपि स्थापना भइसकेका र चालु आर्थिक वर्षमा १७ थप गरिने तयारी भएको बताउनुभयो ।

कूल ५० बिघा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका युनिट रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङले बताउनुभयो । विसं २०५७ देखि सञ्चालन भएको गणको २०७५ साल भदौ ६ गते स्तरोन्नति भई वाहिनीका रुपमा स्थापना गरिएको थियो ।

कार्यक्रममा सङ्घीय संसद् अभिशेख प्रताप शाह, नेपाली कांग्रेस लुम्बिनी संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडिया, लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन केसी, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi