neapl investment mega bank
  • गृहपृष्ठ
  • एमसिसीबारे निर्णय गर्न संसद भवनमै मन्त्रिपरिषद् बैठक, आजै हुन्छ पारित ?

एमसिसीबारे निर्णय गर्न संसद भवनमै मन्त्रिपरिषद् बैठक, आजै हुन्छ पारित ?

Feb 27th, 2022

आधारभूमि संवाददाता

काठमाडौ १५ फागुन

सरकार अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्न प्रयासरत छ । एमसीसीकै बारेमा छलफल गर्न प्रतिनिधि सभा बैठक जारी छ भने संसद भवन नयाँ बानेश्वरमा केहीबेर पछि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको पहिलो बैठकपछि मन्त्रीपरिषद्ले एमसीसी सम्झौतामा व्याख्यात्मक टिप्पणीमाथि छलफल गरी निर्णय गर्ने वताइको छ। सो बैठकले ५ दलीय गठबन्धनले तयार गरेको एमसीसी सम्बन्धि ११ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन गर्नेछ ।

यता संसद बैठकमा अहिलेसम्म माओवादी केन्द्रका देव गुरूङ, नेकपा एमालेका भीम रावल, एकीकृत समाजवादीका झलनाथ खनाल, जनता लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत सांसदहरूले छलफलमा भाग लिइसकेका छन् ।

सांसदहरूले उठाएका प्रश्नहरूबारे केहीबेरमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि प्रतिनिधि सभाको यो बैठक सकिर पुनः अर्को बैठक बस्ने छ । सो बैठकले मन्त्रिपरिषद्को निर्णयमा चर्चा गर्ने छ संसद सचिवालयले जनाएको छ ।

सत्तारुढ दलहरुले यसअघि एमसिसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका थिए।

एमसिसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका कारण नेपाल संयुक्तराज्य अमेरिकाको इण्डो प्यासेफिक स्ट्राटेजीलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धमा बाँधिएको मानिने छैन भन्ने घोषणा गरेका छन् ।

सोही घोषणमा उल्लेखित बुँदालाई मन्त्रिपरिषद्ले पारित गरेमा एमसिसी अनुमोदनको प्रकृया थप अघि बढ्ने छ ।