neapl investment mega bank
  • गृहपृष्ठ
  • संसद्मा एमसिसी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु

संसद्मा एमसिसी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु

Feb 27th, 2022

काठमाडौँ, १५ फागुन /रासस

प्रतिनिधिसभाको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव प्रस्तुत गरेपछि सैद्धान्तिक छलफल सुरु भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको नाराबाजी र ‘वेल’ घेराउबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ गर्नुभएको थियो ।

बैठकको छलफलमा भाग लिँदै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले दुरगामी महत्व राख्ने सम्झौताका बारेमा छलफल गर्दा सबैको सहमति हुँदा उत्तम हुने उल्लेख गर्दै एमसिसी सम्झौताका विस्तृत विवरण हेरेर मात्र छलफल हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले एमसिसी सम्झौताका बारेमा आफू नेतृत्वको सरकारका पालामा कुनै प्रक्रिया नभएको सपष्ट पार्दै मुलुक र जनताका हितविपरीतका सर्त मान्य नहुने बताउनुभयो ।

सत्तारुढ दलले एमसिसीका सम्बन्धमा गरेको व्याख्यात्मक टिप्पणीका सम्बन्धमा जिज्ञासा राख्दै उहाँले त्यसको कार्यान्वयन गर्ने कानूनी आधार के हुने भनी प्रश्न गर्नुभयो । साथै यथास्थितिमा एमसिसी सम्झौता अनुमोदन गर्न नसकिने उहाँले बताउनुभयो ।

नेकपा (एमाले) सांसद डा भीमबहादुर रावलले राष्ट्रिय संवेदनशील विषयलाई संसद् बैठकको होहल्लाका बीच प्रस्तुत गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले एमसिसीका केही प्रावधान राष्ट्रिय हितमा नभएको टिप्पणी गर्दै सो प्रस्तावमा सहमति जनाउन नसकिने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङले एमसिसीका सम्बन्धमा सत्तारुढ दलहरुबीच भएको व्याख्यात्मक घोषणाकाबारे जानकारी माग गर्नुभयो । यो विशुद्ध आर्थिक सहयोग परियोजना मात्र हो भन्ने निश्चित गर्नुपर्ने उहाँको भनाइ थियो । यस प्रस्तावमा विभिन्न दलका तर्फबाट नेताहरुले दलगत धारणा राख्नेक्रम जारी छ ।