आधारभूमि संवाददाता
काठमाडौ १३ फागुन
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज पनि प्रदर्शन जारी छ । आज बानेश्वरमा बिभिन्न ३४ वटा राजनीति दलहरुले प्रदर्शन गर्दै छन् ।
एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् ।
एमसीसीविरुद्ध विरोध प्रर्दशन आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन् । विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीन तिरबाट घेर्ने तयारी गरेका छन् । दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतीघरदेखि कोटेश्वरसम्म प्रदर्शन हुनेछ ।
नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा (माले), एमसिसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठन र नेकपा (माओवादी) रहेका छन् ।