आधारभूमि संवाददाता
काठमाडौ, फागुन ८
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि टोटेनहमले जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले सिटीलाई उसैको घरेलु मैदान ३–२ गोलले पराजित गरेको हो ।
टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे भने देजान कुलुसेव्स्कीले एक गोल गरे ।सिटीका इल्के गुन्डोगन र रियाद महरेजले एक-एक गोल गरे ।
खेलमा पहिलो अग्रता टोटेनहमले लिएको थियो । खेलको चौथो मिनेटमा टोटेनहमका देजान कुलुसेव्स्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
खेलको ३३ औं मिनेटमा सिटीका इल्के गुन्डोगनले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए।
दोस्रो हाफको ५९ औं मिनेटमा टोटेनहमका ह्यारी केनले गोल गर्दै टोटेनहमलाई २-१ ले अघि बढाए।
इन्जुरी समयको दोस्रो मिनेटमा सिटीका रियाद महरेजले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए।
तर, इन्जुरी समयको पाँचौं मिनेटमा टोटेनहमका ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।
जितसँगै टोटेनहमले २३ खेलबाट ३९ अंक जोडेको छ र तालिकाको सातौं स्थानमा छ । पराजित पछि पनि सिटीको २६ खेलबाट ६३ अंक छ र शीर्ष स्थानमा छ ।