काठमाडौ, फागुन ५
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा रमेश हमाललाई नियुक्त भएकाछन । मन्त्रीपरिषदको बिहिबार बसेको बैठकले हमाललाई पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
अध्यक्ष छनौटको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समिति गठन गरिएको थियो । सोही समितीले बोर्डको अध्यक्षको लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट गरेको थियो । सोही तीन जना मध्येबाट नै मन्त्र्रिपरिषदको बैठकले हमाललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष हमालले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेकाछन भने नेपाल विद्युत् प्राधिकरणमा आठ बर्ष काम गरेको अनुभव रहेको छ ।
बोर्डको तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना रहेका थिए । सर्वोत्तम सिमेन्टको शेयर खरिद बिव्रmी प्रकरणमा मुछिए पश्चात ढुंगानाले पदबाट राजीनामा दिएका थिए । सो पश्चात बोर्ड अध्यक्ष बिहिन भएको थियो ।