neapl investment mega bank
  • गृहपृष्ठ
  • एमसिसि पारित गर्नुपर्नेमा काँग्रेसको जोड

एमसिसि पारित गर्नुपर्नेमा काँग्रेसको जोड

Feb 15th, 2022

आधारभूमि संवाददाता

काठमाडौ ३ फागुन

नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसिसी) र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग पारित गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले एमसिसी र महाअभियोगलाई संसदबाट पास गर्न आव्हान गर्ने निर्णय गरेको हो।

बैठकमा उपस्थित सबै सांसदले एमसिसी अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । बैठकमा नेता रामशरण महतले एमसिसी देशको हितमा भएका कारण यसलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा।रामशरण महतले एमसीसी राष्ट्रिय हीतमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए। उनले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोप समेत लगाए।

त्यस्तै नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीसम्बन्धी प्रस्ताव पेश हुने बताएका छन्।

उनले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए। नेता कोईरालाले एमसीसीको रुपरेखाहरू नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत स्पष्ट पारे।

नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरु बढ्ने र पूर्वाधारको विकास हुने दावी गरे । साथै उनले बीआरआई र इण्डोप्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको बताए। नेता महतले एमसीसी सहयोग कुनै पनि मुलुकको हीत विपरित नभएको जिकीर गरे ।

यता नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताइन्। उनले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने धारणा राखिन्।

उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्नेमा जोड दिइन् । उनले एमसीसी एउटा अनुदान मात्र भएको वताउँदै यसले नेपालका लागि दीर्घकालीन सहयोग पुर्‍याउले वताइन् ।