कभक्तपुर, फागुुन २
नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजले टक विथ इन्टरप्रेनर्सको पहिलो सत्र आयोजना गरेको छ । कार्यक्रममा अतिथि वक्ताको रुपमा ईडा रिजाल रहेकी थिइन् भने सम्पूर्ण सत्रको संचालन गरिमा विष्टले गरेकी थिइन् ।
ईडा रिजाल कोभिड कनेक्ट नेपालकी सह– संस्थापिका, माइक्रोसफ्ट इमेजिन कप २०१८–एआई वर्गकी विजेता र सोचवेयरकी पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सह–संस्थापिका पनि रहेकी छन् । भौतिक रूपमा उपस्थित नभई अनलाइन माध्यममा कार्यक्रम सञ्चालन भए तापनि युवा उद्यमीको उत्साह र ऊर्जा सत्रभर महसुस गर्न सकिन्थ्यो । कार्यक्रम निकै अन्तरक्रियात्मक भएको पाइयो ।
रिजालले कौशलतापूर्वक व्यापार र विचारकोबारेमा एक विस्तृत अन्तरदृष्टिगत सत्र दिइन् । उनले उत्पादन भिन्नता, विचार प्रमाणीकरण र व्यापारमा मार्केटिंग दृष्टिकोणकोबारे पनि छलफल गरिन् । स्टार्टअपको असफलताको कारणहरू र कसरी स्टार्टअपले दिगो राजस्व उत्पादन गर्न सक्छ भन्ने विषयमा आफ्ना विचार प्रकट गरिन् । विचार प्रक्रियाको क्रममा आफ्नो व्यापारलाई कसरी स्थिरता प्रदान गर्न सकिन्छ भन्नेबारे पनि चर्चा गरिन्, र व्यापारको सफलता कसरी निर्धारण गर्नेबारे आफ्नो दृष्टिकोण व्यक्त गरिन् । अन्त्यमा ईडा रिजालले सहभागीहरूका प्रश्नहरूको जवाफ दिइन् र कार्यक्रमको अन्त्यमा क्याम्पस निर्देशिका टानिया लामिछानेले रिजाललाई मायाको चिनो हस्तान्तरण गर्दै सत्रको औपचारिक रुपमा समापन गरिन् ।