आधारभूमि संवाददाता
काठमाडौं, माघ २७
इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले टोटेनहममाथि जित निकालेको छ । बुधबार राति भएको खेलमा साउथह्याम्पटनले टोटेनहमलाई उसैको घरेलु मैदान ३–२ गोलले पराजित गरेको हो ।
साउथह्याम्पटनलाई जित दिलाउन अर्मान्डो ब्रोजा,मोहम्मद एल्युनौसी र चे एडम्सले एक-एक गोल गरे।टोटेनहमका सन हेउङ मिनले एक गोल गरे भने टोटेनहमले एक गोल आत्मघाती उपहार पाएको हो ।
खेलको १८ औं मिनेटमा साउथह्याम्पटनका जान बेडनारेकले आत्मघाती गोल गरेपछि टोटेनहमले अग्रता लिएको थियो।
तर, खेलको २३ औं मिनेटमा साउथह्याम्पटनका अर्मान्डो ब्रोजाले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए।
दोस्रो हाफको ७० औं मिनेटमा सन हेउङ मिनले गोल गर्दै टोटेनहमलाई २-१ ले अघि बढाए।
तर, खेलको ७९ औं मिनेटमा साउथह्याम्पटनका मोहम्मद एल्युनौसीले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए।
त्यसपछि खेलको ८२ औं मिनेटमा साउथह्याम्पटनका चे एडम्सले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।
जितसँगै साउथह्याम्पटनले २३ खेलबाट २८ अंक जोडेको छ र तालिकाको १० औं स्थानमा छ । पराजित टोटेनहमको २१ खेलबाट ३६ अंक छ र सातौं स्थानमा छ ।