neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बाराकी रुबी शाह जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउज म्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित

बाराकी रुबी शाह जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउज म्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित

Feb 10th, 2022

काठमाडौ, माघ २७
बाराकी सुश्री रुबी शाहलाई १०,००० डलर बराबरको जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित गरिएको छ । उनलाई जोन्टा क्लब अफ काठमाडौं–२५, क्षेत्र २ बाट मनोनयन गरिएको थियो र पुरस्कारको लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनोटमा पठाइएको थियो जहाँ उनले थप २००० डलर पनि प्राप्त गरिन् ।

उनीसँगै अरु ३२ जनाले २००० डलर बराबरको थप छात्रवृत्ति पनि प्राप्त गरेका थिए।यसका साथै उनले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८००० डलर पनि प्राप्त गरेकी छिन्।उनी शैक्षिक वर्ष २०२१– २०२२ को लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका छ जना क्षमतावान प्रतिभाहरु मध्य एक हुन् ।

उनी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् । १९ वर्षको उमेरदेखि नै रुबीले विभिन्न विधामाहरूमा व्यवसाय इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहेकी छिन् । उनी उद्यमी नेपालीको पूर्व प्रमुख अपरेटिङ अफिसर पनि हुन् । त्यहाँ उनले कम्पनीको कर्मचारीहरुलाई मार्गदर्शन गर्ने र उद्यमीहरूका लागि आवश्यक सामग्रीहरु बनाउने देखि लिएर कार्यक्रम संयोजन गर्ने विषयमा रणनीतिहरू बनाइन्। हाल उनी कीर्तिपुरको रोटरयाक्ट क्लबको चार्टर प्रेजिडेन्टको रूपमा नेतृत्व गरिरहेकी छिन् जहाँ उनले ४० भन्दा बढि स्थानीय युवाहरूसँग मिलेर सामुदायिक परियोजनाहरू र क्षमता विकास सम्बन्धि कार्यक्रमहरू संयोजन गरिरहेकी छिन् ।

महिलाहरुलाइ आर्थिक रुपले सशक्त गर्ने दृढ उद्धेश्य र प्रतिवद्धताका साथ रुबीले धेरै फेलोशिप र प्रशिक्षण सेमिनारहरूमा भाग लिएकी छन् । उनले सन् २०१९मा मलेसियामा भएको अन्तर्राष्ट्रिय युवा संलग्नता सम्मेलनमा एसडिजि प्रस्तोताको रूपमा नेपालको प्रतिनिधित्व गरिन् जहाँ उनले ’नेपालमा महिलाहरूलाई सशक्तिकरण गर्न युवा क्लबहरुको भूमिका’ भन्ने विषयमा प्रेजेन्टेसन दिएकी थिइन् । त्यहाँ उनले लैंगिक समता र समान पेशागत र आर्थिक वृद्धि हासिल गर्न युवा केन्द्रहरूको भूमिकाको विषयमा वकालत गरिन् ।

जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सुश्री सीमा गोल्छाज्युले भन्नुभयो, “हामीलाई थाहा छ कि उनी व्यवसाय अध्ययन गर्न र महिलाहरूलाई सशक्तिकरणको क्षेत्रमा नेतृत्व लिन चाहने धेरै किशोरीहरुको लागि उत्कृष्ट रोल मोडेल हुनेछिन् । उनलाई उच्च शिक्षा अध्ययनको लागि शुभकामना र छात्रवृत्तिको लागि बधाई छ ।”

जोन्टाले प्रत्येक वर्ष क्षमतावान महिलाहरूलाई व्यवसाय र व्यवस्थापनलाई पेशा बनाउन र नेतृत्वदायी भूमिकाहरू लिन प्रोत्साहन गर्ने उद्धेश्यले जेएमके छात्रवृत्ति प्रदान गर्दछ । यो छात्रवृत्ति पाउनको लागि आवेदकहरुको राम्रो शैक्षिक पृष्ठभुमि हुनुपर्छ र उनीहरुमा लगनशीलता,उच्च महत्त्वाकांक्षा र व्यवसायमा करियर बनाउने प्रतिबद्धता झल्किनुपर्छ ।

रुबीले स्थानीय युवाहरुसँग मिलेर विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गर्ने, अत्यावश्यक खाद्यान्न र सरसफाइ सामग्रीहरू प्रदान गर्ने, महामारीको समयमा सुकुम्वासी वस्तीका परिवारहरूलाई खुवाउने जस्ता कार्यक्रमहरु सन्चालन गरेकी छन् । लैङ्गिक असमानताका कारण धेरै क्षमतावान महिलाहरुले आफ्नो व्यवसाय सञ्चालन गर्नको लागि आवश्यक लगानी जुटाउन कठिनाई भोग्दै आएका छन्। त्यसैले उनी वँहाहरुको लागि लगानी जुटाइदिने र नेपालको इन्भ्स्ट्मेन्त स्पेसमा, खास गरी जेन्डर स्मार्ट इन्भेस्टिङमा नेपालकै प्रथम महिला फाउन्डर हुन चाहन्छिन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi