neapl investment mega bank
  • गृहपृष्ठ
  • आज सहिद दिवस,सहिदको सम्मानमा के- के भए हालसम्म ?

आज सहिद दिवस,सहिदको सम्मानमा के- के भए हालसम्म ?

Jan 30th, 2022

आधारभूमि संवाददाता


काठमाडौ १६ माघ

स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा आफ्नो ज्यान आहुति दिएर देश र जनताको रक्षा गर्ने महान व्यक्तिहरुको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।

नेपाली बृहत् शब्दकोषमा उल्लेख भए अनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ ।

पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विरोध हुने गरेको छ । कुनै घटना वा दुर्घटनामा परेकालाई पनि सहिद घोषणा गरिँदा देशका लागि जीवन आहूति दिनेको अपमान भएको भन्दै विरोध हुने गरेपनि सहिदको स्पष्ट मापदण्ड छैन ।

नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचार–प्रसार गरेको आरोपमा विसं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो ।

वि.सं २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गर्दछ ।

स्वतन्त्रताको माग गरेका कारण विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

विसं २०६३ अघिसम्म सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यस दिन राष्ट्रिय विदा पनि दिने गरिन्थ्यो ।

त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

हालसम्म कति भए सहिद ?


विसं २०७४ माघ ३ गते विभिन्न आन्दोलनमा मारिएका १९० जनालाई सहिद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल सम्पूर्ण सहिदको तथ्याङ्क सूची सङ्कलन गरी स्पष्ट अभिलेख राख्न सुरु गरेको जनाएको छ ।

यद्यपि मन्त्रालयसँग हालसम्म कति सहिद घोषणा गरियो भन्नेबारे स्पष्ट जवाफ भने छैन । सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सिफारिसमा एक हजार ६१९ जनालाई सहिद घोषणा गरेको थियो ।

त्यस्तै सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई सहिद घोषणा गरेको बताइए पनि त्यसको आधिकारिक तथ्याङ्क पाउन सकिएको छैन ।

विसं २०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ सहिदलाई सम्मानस्वरुप सरकारले जनही रु एक लाख आर्थिक सहयोग गरेको थियो ।

त्यस्तै विसं २०६२र६३ को जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई सहिद घोषणा गरियो । यी सहिदका परिवारलाई पनि रु १० लाखका दरले आर्थिक सहयोग गरिएको थियो ।

नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जना छन् । पछिल्लो समय सहिद घोषणा भएपछि तिनका परिवारलाई राज्यबाट रु १० लाख प्रदान गर्ने गरिएको छ ।