neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतीय विदेशमन्त्रीलाई कोरोना संक्रमण

भारतीय विदेशमन्त्रीलाई कोरोना संक्रमण

Jan 28th, 2022

नयाँ दिल्ली,१४ माघ /रासस/सिन्ह्वा

भारतका विदेशमन्त्री एस जयशंकरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।उहाँले बिहीबार पिसिआर परीक्षण गराउनुभएको र उहाँलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ ।

विदेशमन्त्री जयशंकरले पनि ट्वीट गर्नुभएको छ । सो ट्वीटमा उहाँले आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केही दिनयता देखि आफ्नो सम्पर्कमा रहेका अरु व्यक्तिहरुलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गर्नुभएको छ ।हाल भारतले पनि कोरोना भाइरसको तेस्रो वेभको सामना गरिरहेको छ । बिहीबारमात्र पनि भारतमा २ लाख ८६ हजार भन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी बिहीबार सार्वजनिक भएको सो तथ्यांकमा गएको २४ घन्टामा मात्र ६७३ जनाको यो संक्रमणबाट निधन भएको पनि बताइएको थियो । केही दिनयता संक्रमण घटेको जस्तो देखिएपनि अहिले भने फेरि यहाँ संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको जनाइएको छ ।