neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सरकारी निकायनै पूरा गर्दैनन् मापदण्ड, खोलाको जग्गा मिचेर धमाधम संरचना

सरकारी निकायनै पूरा गर्दैनन् मापदण्ड, खोलाको जग्गा मिचेर धमाधम संरचना

Jan 25th, 2022

आधारभूमि संवाददता

काठमाडौँ ११ माघ

सरकारी निकायले नै सरकारले तोकेको मापदण्ड पूरा नगरी संरचना निर्माण गर्ने गरेको पाइएको छ ।
इच्छुमती (टुकुचा) खोलाको दायाँबायाँ जग्गा नछाडी सरकारले तोकेको मापदण्डविपरीत सरकारी कार्यालय र कम्पनीले नै संरचना निर्माण गरेका छन् ।

टुकुचा, सामाखुसी र काठमाडौँ उपत्यकामा बग्ने अन्य खोलामा चार मिटर छाडेरमात्र निर्माण गर्न पाइने मापदण्ड खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पालना नगरेको भेटिएको छ । संरचना निर्माण गर्दा राजकुलो छोप्न नपाइने मापदण्ड मन्त्रिपरिषद्ले पारित गरिसकेको छ।

यसैगरी काठमाडौँ महानगरपालिका–११ भद्रकालीप्लाजास्थित कम्पनीका नाममा रहेको कित्ता नं २३९५ को सात रोपनी जग्गा भाडामा दिँदा मन्त्रिपरिषद्को मापदण्ड मिचेको भेटिएको छ । कम्पनीले विसं २०७४ मा कम्पनीको जग्गा भाडामा लगाउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

बीसभन्दा बढी कम्पनीले बोलपत्र हालेकामा सबैभन्दा बढी भाडा कबोल गर्ने फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिलाई मासिक रु १० लाख ५१ हजारमा दिने सम्झौता विसं २०७४ असार ७ गते गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीको भनाई छ ।

कम्पनीले मनोरञ्जनात्मक कामका लागि सात रोपनी जग्गा भाडामा दिँदा कानुन बमोजिम गर्ने भनी दोस्रो पक्षसँग सम्झौता गरेको उनले बताइन् । कम्पनीले कानुनबमोजिम गर्ने भनी सम्झौता गरेको दाबी गरिए पनि फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिले भने नदीको दायाँबायाँ छाड्नुपर्ने मन्त्रिपरिषद्को मापदण्ड पालना गरेको छैन ।

मापदण्ड मिचेर बनेका संरचनालाई जतिबेला पनि सरकारले भत्काउन सक्ने विकास प्राधिकरणले जनाएको छ । टुकुचाको तलदेखि माथिसम्म धेरै स्थानमा सरकारी कार्यालयले मापदण्ड पालना गरेका छैनन् ।

के छ मापदण्ड ?

मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर १ गते काठमाडौँ उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संशोधन गरेको थियो ।

संशोधनअनुसार खोला किनारमा निर्माण गर्दा वाग्मती, विष्णुमती र मनोहरा खोलाको दायाँबायाँ २०÷२० मिटर, रुद्रमती (धोबीखोला) का हकमा धोबीखोला आयोजनाले तोकेको दूरी र आयोजना नभएको स्थानमा नौ मिटरको मापदण्ड तोकिएको थियो ।

यसैगरी नख्खु खोलाको दायाँबायाँ १२÷१२ मिटर, बल्खु, कर्मनासा, कोड्कु, साङ्ले र महादेव खोलामा १० मिटर, करखुसी खोलामा छ मिटर मापदण्ड मन्त्रिपरिषद्ले तोकेको थियो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका सहप्रवक्ता दीनेशकृष्ण पोते टुकुचा किनारमा मापदण्ड लागू भएको वर्ष विसं २०६५ पछि निर्माण हुने संरचनाले यो नियम पालना गर्नुपर्ने बताउछन्।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi