आधारभूमि संवाददाता
काठमाडौं,माघ ५
बैंकहरुले अहिलेसम्म ४६ खर्ब बराबरको कर्जा प्रदान गरेका छन् । जसमा ३० खर्ब बराबरको रकम त घरजग्गा नै धितो राखेर प्रदान गरेको देखिन्छ । घरजग्गाको मूल्यमा कमि नआउने र ऋणी डुबे तत्काल ऋण उठाउन सकिने भन्दै घरजग्गामै बैंकहरुको आकर्षण देखिएको हो ।
घरजग्गामै भने बैंकहरुले १० अर्ब बराबरको लगानी गरेका छन् । अर्थात ३० खर्ब बराबरको रकम धितो राखेर प्रदान गरेको भएपनि १० अर्ब रकम भने घरजग्गा धितो राखेर घर तथा जग्गाको किनबेचका लागि प्रदान गरेका छन् ।
बैंकको ठूलो मात्रामा लगानी रहेको यहि घरजग्गाको कारोबारमा भने सुस्तता छाउन थालेको छ ।
मंसिर महिनामा १ लाख ६९ हजार जग्गा किनबेच भएकोमा पुष महिनामा आउँदा यस्तो कारोबार घटेर १ लाख ५७ हजारमा सिमित भएको छ । यस्तो कारोबार गत वर्षको पुष महिनाको तुलनामा समेत ३६ दशमलव चार आठ प्रतिशतले घटेको छ ।
गत वर्षको पुष मसान्तमा २ लाख १४ हजार वटा जग्गा किनबेच भएकोमा यो वर्षको पुष महिनामा १ लाख ५७ हजार जग्गा किनबेच भएका छन् । अर्थात गत वर्षको तुलनामा यो वर्षको सोहि अवधिमा यस्तो कारोबारमा ३६ दशमलव चार आठ प्रतिशतले कमि आएको छ ।
गत मंसिर महिनामा भने यस्तो कारोबार अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले मात्रै बढेको थियो । जबकी गत भाद्र महिनामा यस्तो कारोबार गत वर्षको तुलनामा ७२ प्रतिशतले बढेको थियो ।
विभागका अनुसार मंसिर र पुष महिनाको तथ्यांक केलाउँदा घरजग्गा कारोबारमा बिस्तारै सुस्तता आएको देखिएपनि यो वर्षको छ महिनाको पुर्ण तथ्यांक केलाउने हो भने चाहि गत वर्षको तुलनामा कारोबारमा बृद्धि भएको देखिन्छ ।
बैंकमा लगानीयोग्य रकमको अभाव हुँदा त्यसको सिधा असर घरजग्गा कारोबारमा परेको छ । मंसिरयता देखि बिस्तारै कम भएको घरजग्गा कारोबारमा पुषमा आउँदा सुस्तता छाएको देखिएको हो ।