काठमाडौँ ३ माघ
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत सरकारी कर्मचारीमा कोरोना भाइरसको तेस्रो लहर देखा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।
संक्रमित हुनेमा प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिव हुन् । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए ।
थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का प्रमुख पनि हुन् । उनलाई संक्रमण भएपछि सिसिएमसिसीको बैठक नै बस्न सकेको छैन ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ। संक्रमित सबै सचिवहरू होमआइसोलेसनमा छन् ।
सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पीसीआर परीक्षण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।