आधारभूमि संवाददाता
काठमाडौँ २ माघ
सरकारले कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
आइ्रतबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले कोभिड रोकथाम र नियन्त्रण गर्न केही समयका लागि यसमा रोक लगाइएको बताए ।
धार्मिकस्थलमा भने जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गर्न पाउने, सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कुल क्षमता एक तिहाइ मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी सञ्चालन गर्न दिने निर्णय भएको उनले जानकारी दिए ।
सरकारले जारी गरेको ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै माघ मसान्तसम्म नित्यपूजा र ध्यान मात्र गर्ने व्यवस्था मिलाउने उल्लेख छ।
साथै सपिङ मल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ। कुनै सामान अनावश्यक रूपमा नछुने, मास्क अनिवार्य, सामाजिक दूरी कायम गराउने गरि सञ्चालन गर्न दिने आदेशमा उल्लेख छ।
साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन्।
सबै प्रकारका आम सभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप २०६८ साल माघ मसान्तसम्म नगर्ने निर्णय गरेको छ।
गोष्ठी, सेमिनार, बैठक जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने। भौतिक रूपमा उपस्थित भइ गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी, एन्टिजेन परीक्षण गर्ने गरि, रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्ने। त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने माघ ७ पछि खोपको पुरा मात्र लगाएका व्यक्तिको उपस्थितिमा मात्र गर्ने सरकारले निर्णय गरेको छ।
यस्तै विद्यालय, विश्वविद्यालय, तालिम, कलेज ट्यूसन सेन्टरलगायत अन्य प्रकारका शैक्षिक क्रियाकलाप गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा नगर्ने, भर्चुअलबाट मात्र गराउने निर्णय गरेको छ।