काठमाडौ, पुस ३०
नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवं रहस्यमय मौनताप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ, साझाले भनेको छ ।
कूटनीति निस्सन्देह आवेग र उत्तेजनाको विषय हैन । तर अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने हुन्छ ।
नेपाली भुभागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य छैन । नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह समेत गरेको छ ।