neapl investment mega bank

हल्का वर्षा र हिमपातको सम्भावना

Jan 12th, 2022

काठमाडौँ, २८ पुस /रासस

पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ ।

यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आगामी शुक्रबारदेखि अझै अर्कौ मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको छ”, उहाँले भन्नुभयो ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । बिहीबार देशभर आंशिक बदली रही अपराह्न पछाडी प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम माइन चार दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।