आधारभूमि संवाददाता
काठमाडौँ २३ पुस
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ । एमाललेले हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेक अरु जिल्लामा एकसाथ अधिवेशन गर्न लागेको हो ।
एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ उद्घाटन हुन लागेको हो । प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेकका जिल्लामा अधिवेशनको अर्को मिति तय हुनेछ ।
जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ । जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर जारी गरेको छ ।
जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।
एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला जिल्लमा केही दिनदेखि नै खटिएका छन् ।