आधारभूमि संवाददाता
काठमाडौ १९ पुस
सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि १९ सदस्यको भागबण्डा मिलाएका छन् ।
राष्ट्रिय सभाका १९ जना सदस्यका लागि हुन लागेको चुनाव कांग्रेसले ६ सिट, नेकपा माओवादी केन्द्रले ५, नेकपा (एकीकृत समाजवादी) ले ५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सिटमा उम्मेदवारी दिने गरी भागबन्डा मिलाएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले भागवण्डाको टुंगो लगाउँदै यसअघि जुन पार्टीबाट निर्वाचित भइ अहिले अहिले खाली भएका छन् ती स्थानमा छ त्यही पार्टीलाई दिएर सघाउने निर्णय गरिएको छ।
सहमति अनुसार माओवादीलाई ४ वटा, नेकपा एकीकृत समाजवादीलाई चारवटा र काङ्ग्रेसलाई ६ वटा सिट उसैलाई दिएर सत्ता गठबन्धन दलहरुबीच एकअर्कालाई सघाउने निर्णय भएको छ।
यसैबिच प्रमुख प्रतिपक्षी एमालेले पनि राष्ट्रियसभा निर्वाचनमा एक्लै लड्ने निर्णय लिइसकेको छ। एमालेले कर्णालीका उम्मेदवारको टुंगो गरिसकेको छ।
राष्ट्रियसभामा एक मनोनीतसहित ४ वर्षे कार्यकाल पूरा गरेका २० जनाको पद आगामी फागुन २० गतेदेखि रिक्त हुँदैछ। राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन्।
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ।