आधारभूमि संवाददाता
काठमाडौं, मंसिर १३
बिकास निर्माणका काम न्युन मात्रामा गरेको सरकारले चालु खर्च भने अपेक्षाकृत रुपमा नै बढाएको छ । जसका कारण ढुकुटीमा भने जम्मा ८ अर्ब मात्रै रकम रहेको छ ।
अर्थमन्त्रालयका अनुसार मंसिर ९ गते सम्ममा सरकारले ४ खर्ब २४ अर्ब आम्दानी गरेकामा ४ खर्ब १६ अर्ब भने खर्च गरिसकेको छ ।
तर, बिकासका लागि भनेर यो समयमा गरिएको खर्च भने जम्मा ३३ अर्ब १३ करोड हो । ३ खर्ब ४० अर्ब रकम सरकारले चालु खर्चमा खर्चेको छ । प्रदेश तथा स्थानिय तहमा हस्तान्तराण गरेको रकम सँगै यसमा कर्मचारीलाई तलब तथा भत्तामा गरिएको खर्च समेत यसमा जोडिन्छ ।
सरकारले यो वर्ष २ खर्ब ८३ अर्ब बैदेशिक ऋण लिने लक्ष्य राखेकामा बिकास निर्माणका काम अघि बढ्न नसकेकाले अहिलेसम्म १६ अर्ब ६१ करोड मात्रै प्राप्त भएको छ ।
अर्थात सरकाले बिदेशी ऋण जम्मा ५ प्रतिशत मात्रै प्राप्त गरेको छ । हुनत ऋण थुप्रनु र बढ्नु राम्रो होइन । तर, देशका अधिकांश बिकास निर्माण यस्तै बिदेशी ऋण बाट हुने र यहाँ उठेको राजस्वले चालु खर्च धान्न पनि मुस्कील हुने भएकाले ऋण के कति प्राप्त भयो भन्ने अर्थ राख्छ ।
सरकारले आन्तरिक ऋण २ खर्ब ३९ अर्ब उठाउने लक्ष्य राखेको छ । तर बिकास निर्माणका काम अघि बढाउन चुकेकाले यो पनि ६ अर्ब भन्दा बढि उठाउन सकेको छैन । आन्तरिक ऋण उठाएर मात्रै भएन त्यसलाई खर्चनु पर्ने भएकाले आन्तरिक ऋणपनि उठाउने आट गर्न सकेको छैन ।
त्यसैगरि सरकारले यो वर्ष बैदेशिक अनुदान ५९ अर्ब ९२ करोड संकलन गर्ने लक्ष्य लिएको थियो । तर, अहिलेसम्ममा ४ अर्ब ४३ करोड मात्रै प्राप्त भएको छ । अर्थात लक्ष्यको जम्मा ७ प्रतिशत मात्रै बैदेशिक अनुदानका रुपमा रकम प्राप्त भएको छ ।
बिकास निर्माणका काम समयमै अघि बढ्न नसकेका कारण सरकारले बैदेशिक अनुदान प्राप्त गर्न नसकेको हो ।
सरकारले बिकास निर्माणका काम सकेपछि बैदेशिक सहायता दाबी गर्न मिल्छ । जसलाई सोधभर्ना भनिन्छ । ्अर्थात सरकारको ढुकुटीबाट खर्चेर बिदेशी निकायसँग माग गरिने रकम अर्थात सोधभर्नाबाट २ अर्ब ९२ करोड रुपैयाँ मत्रै प्राप्त भएको छ ।
त्यसैगरि नगद अनुदानबाट १ अर्ब १८ करोड र सोझै भुक्तानी अर्थात निकायकै खाताबाट खर्च गरिने रकम ३३ करोड खर्च भएको छ ।
बिकास निर्माणका काम अघि बढ्न नसकेकाले अनुदान प्राप्त हुन नसकेको जानकारहरु बताउँछन् ।