आधारभूमि संवाददाता
काठमाडौ १२ पुस
नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेश भएका छन् ।
बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ। अध्यक्षमण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पूर्णाकुमारी सुवेदी, परशुराम तामाङ, पर्शुराम रम्तेल र रूपा महर्जन छन्।
अहिले अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदन वाचन भइरहेको छ। बन्दसत्रमा १७ सय प्रतिनिधि रहेको माओवादी केन्द्रले जनाएको छ।
राजनीतिकलगायत विभिन्न प्रतिवेदन पारितपछि बन्दसत्र माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नेछ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार महाधिवेशनले पदाधिकारीसहित २९९ जनाभन्दा बढी नै सदस्य रहेको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ। यसमा पदाधिकारीको संख्या अध्यक्षसहित १५ जना राख्ने तयारी छ।