आधारभूमि संवाददाता
काठमाडौँ, पुस १२
निर्माणको काम सकेर पनि ३५ अर्ब बराबरको रकम भुक्तान पाउन नसकेको निर्माण व्यसायीले बताएका छन् । करिब ४ वर्ष अघि देखि निर्माण गरेको यस्तो रकम पाउन नसकेको उनिहरुको भनाई छ ।
चालु आर्थिक वर्षको ५ महिनामा सरकारले ८ प्रतिशत पनि बिकास खर्च गर्न सकेको छैन । सरकारले यसरी बिकासका लागि भनेर छुट्टाएको रकम खर्चन नसकेका बेलामा यता निर्माण व्यवसायीले भने काम सकेर पनि रकम पाउन सकेका छैनन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अनुसार बिगत ४ वर्ष यतादेखिका केहि आयोजनामा सरकारले काम सम्पन्न गरेपनि रकम भुक्तान नगरेको निर्माण व्यवसायी महासंघ बताउँछ ।
केन्द्र सरकारबाट स्थानिय र पछि फेरी केन्द्र सरकारमै फर्किएका यस्ता सडक तर्फका आयोजनबाट ५ अर्ब जति भुक्तान हुन बाँकि छ ।
महामारीका कारण निर्माण व्यवसाय पनि प्रभावित भएको थियो । तर, महामारीबट प्रभावित भएका आयोजनाको म्याद थप्ने निर्णय भने सरकारले गत भदौमा मात्रै आएर गरेको र अघिल्लो वर्षको बजेट फ्रिज भएकाले समयमै भुक्तान पाउन नसकेको निर्माण व्यवसायीहरु बताउँछन् ।
पछिल्लो समय निर्माण व्यवसाय अझ तरलताको मारमा परेकाले निर्माणका काम अघि बढ्न सकेका छैनन् । निर्माण व्यवसायीले निर्माण कार्य अघि बढाउनका लागि बैंकबाट ऋण नपाएको बताउँछन् ।
सरकारले प्रत्येक महिना १० प्रतिशत बिकास खर्च गर्ने भनेपनि सरकारी निकायबिच समन्वयको अभावले यो पुरा नहुने मात्रै हैन बिकासका लागि भनेर छुट्टाइएको रकम नै सरकारी ढुकुटिमा लामो समय थुप्रिएर बस्ने जोखिम देखिएको छ ।
महामारीका कारण गत वर्ष रकम फ्रिज भएर करिब १५ अर्ब बराबरको रकम नपाएको व्यवसायीहरु बताउँछन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंह भन्छन् ‘गत वर्ष म्याद लम्ब्याइएन, यो वर्षको भदौमा आएर बल्ल म्याद थपियो अहिले बजेट बिनियोजन छैन, अब कसरी हुन्छ बिकास ? ’