आधारभूमि संवाददाता
काठमाडौ ११ पुस
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमसीसीका पक्षमा खरो रुपले उत्रिएका छन् । उनले एमसिसिलाई राष्ट्रघाती नभएको भन्दै एमसीसीबारे राम्रो अध्ययन गर्न पनि सुझाव दिएका छन्।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा आइतवार प्रज्ञा भवनमा शुभकामना मन्तव्य राख्दै देउवाले एमसिसिबारे आफ्नो धारणा प्रश्ट पारेका हुन् । उनले भने ‘एउटा कुरा बोल्नै पर्ने भो । म अरु कुराको लागि आएको थिएँ। तर यहाँ वक्ताहरूले एमसीसी राष्ट्रघाती भनिदिए। राष्ट्रघाती भन्नेले पढेका छन् कि छैनन्, त्यो पनि थाहा छैन मलाई’ ।
मन्तव्य क्रममा उनको भनाई थियो ‘पहिला पढ्नु पर्यो एमसीसी कहाँ छ राष्ट्रघाती? मैले पनि हेरेँ, कहीँ राष्ट्रघाती देखेको छैन।’ उनले आफूले राष्ट्रघाती काम नगर्ने पनि बताएका छन्।
एमसीसी राष्ट्रको हितमा रहेको बताउँदै उनले पास गराउने विषयमा माओवादीसहितका दलहरुबीच छलफल भइरहेको स्पष्टीकरण दिए।
उनले भने – ‘एमसीसी नेपालको हितमा छ। सित्तै आएको पैसा हो यो हेर्नुस्। सित्तै आएको पैसा चाहिँदैन भन्छन्’, देउवाले भने, ‘विश्व बैंक र एडीबीबाट पनि हामी ऋण लिन्छौँ। त्यसमा अन्तर्राष्ट्रिय कानुन लागु हुन्छ। एमसीसीले नेपालको कानुन मान्छु भनेको छ। त्यति भन्दा भन्दै पनि पनि स्वीकार्दिनौँ भन्छन्।