neapl investment mega bank
  • गृहपृष्ठ
  • ८ खर्ब ३८ अर्ब ४० करोडको आयात हुदा निर्यात १ खर्ब २ अर्ब, ठूलो हिस्सा पाम र सोयाबिन तेलको कायमै

८ खर्ब ३८ अर्ब ४० करोडको आयात हुदा निर्यात १ खर्ब २ अर्ब, ठूलो हिस्सा पाम र सोयाबिन तेलको कायमै

Dec 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ९

चालु आर्थिक वर्षको पाँच महिनामै मुलुकको ब्यापार घाटा ७ खर्ब ३५ अर्ब पुगेको छ । गत वर्षको सोहि अवधिको तुलनामा तुलनामा यस्तो घाटा ५४.७० प्रतिशतले बढी भएको भन्सार बिभागले जनाएको छ ।

बिहिबार प्रकाशन भएको पाँच महिनाको तथ्यांक अनुसार ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको आयात हुँदा जम्मा १ खर्ब २ अर्ब ९२ करोडको मात्रै निर्यात भएको छ । आयात ५९. ५५ प्रतिशतले बढ्दा निर्यात १०५ प्रतिशतले बढेको देखिएपनि आयातको तुलनामा निर्यात न्युन मात्रामा रहेकाले ब्यापार घाटा उच्च मात्रामा बढेको देखिएको हो ।

तर, आयातित कच्चा पदार्थमा आधारित रहेर उत्पादन गरि बाहिर पठाइने सोयाविन र पाम तेलको निर्यात बढेकाले ब्यापार घाटा नियन्त्रणमा यसले कुनै योगदान गर्न सकेको छैन ।

सबैभन्दा बढि आयात हुनेमा पेट्रोलियम पदार्थ अग्रस्थानमा छ। त्यसपछि सवारीसाधन तथा पार्टपूर्जा, मेसिनरी तथा पार्टपूर्जा, कच्चा सोयाविन तेल, टेलिकम्युनिकेसन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदीको आयात पनि भारि मात्रामा बृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु निर्यात १०४.३ प्रतिशतले वृद्धि भई ८२ अर्ब १२ करोड पुगेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४०.२ प्रतिशत, ७.३ प्रतिशत र २३.५ प्रतिशतले वृद्धि भएको देखिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई ६ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.६ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको थियो ।