neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मतदाता नामावली संकलन प्रकृयामा सुधार, आफू बसेकै जिल्लाबाट नाम टिपाउन सकिने

मतदाता नामावली संकलन प्रकृयामा सुधार, आफू बसेकै जिल्लाबाट नाम टिपाउन सकिने

Dec 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौ ५ पुस

आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मतदाता नामावली संकलन गरिरहेको छ । यसपटक आयोगले मतदातालाई उनीहरु बसेकै जिल्लाबाट नाम संकलन गर्न सक्ने व्यवस्था मिलाएको छ । आयोगले यही मंसिर महिनाको मध्यबाट यस्तो व्यवस्था ल्याएको हो ।

आयोगका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनैका लागि मतदाताहरू आआफ्नो जिल्ला नै जानुपर्ने झन्झट अब हट्ने भएको छ। यसअघि मतदान गर्नका लागि मात्रै नभई मतदाता नामावलीमा दर्ता हुनका लागि पनि मतदाताहरू साबिककै जिल्ला धाउनुपर्ने बाध्यता थियो।

आयोगका अनुसार यसअघिको व्यवस्थाका कारण अधिकांश मतदाता मतदान गर्न योग्य हुँदाहुँदै जिल्लाबाहिर भएकोले मतदाता नामावलीमा नाम लेखाउन छुटेका कारण मतदानबाट वञ्चित हुने गरेका थिए । अव कोही पनि मतदान गर्न योग्य नागरिक मतदानबाट बञ्चित नहोऊन् भनेर यस्तो व्यवस्था ल्याइएको हो ।

मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि सम्बन्धित व्यक्ति आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जिल्ला निर्वाचन कार्यालय जानुपर्ने आयोगले जनाएको छ। साथै निर्वाचन आयोगले मंसिर १७ गतेबाटै मतदाता नामावली दर्तासम्बन्धी एकमहिने विशेष अभियान पनि सञ्चालन गर्न लागेको छ।

अभियानअन्तर्गत आयोगका कर्मचारीहरूले देशभरिका ७३५ वटै स्थानीय तहसम्म पुगेर मतदाता नामावलीमा यसअघि छुटेका योग्य मतदाताहरूका नाम दर्ता गर्नेछन्। साथै आयोगले सो अभियानपछि मतदाता नामावलीलाई अद्यावधिक गर्ने योजना पनि बनाएको छ।

विशेष अभियान एक महिना सम्म चल्ने भएपनि जिल्ला निर्वाचन कार्यालयमा गएर अरू जिल्लाका मतदाताले नाम दर्ता गराउने प्रक्रिया भने निरन्तर चल्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार यसअघि मतदाता नामावलीमा नाम भएका व्यक्तिले कुनै जिल्लाबाट बसाइँसराइ गर्दा आफ्नो नाम सारिदिन साबिकको जिल्लामा निवेदन दिएपछि आयोगले अर्को जिल्लामा सारिदिन्थ्यो।
तर यो व्यवस्थाले बसाईसराइँ गर्दा नाम सार्नपर्ने झन्जट पनि हराएको छ ।

पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या एक करोड ६५ लाखभन्दा बढी रहेको आयोगको तथ्याकंमा उल्लेख छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi