अधारभूमि संवाददाता
काठमाडौं २ पुस
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति पदमा पराजित भए पनि प्रतिनिधिहरु र लोकतन्त्रवादीहरुको ‘मन’ जित्न आफू सफल वताएका छन् ।
उनले पार्टीमा यथास्थिति चाहनेहरुको आफूविरुद्ध अपवित्र गठजोड भए पनि राजनीतिक रुपमा लडाइँ जितेको दावी गरेका छन् । साथै उनले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको धारणा राखेका छन् ।
डा. कोइरालाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो धारणा व्यक्त गरेका हुन् । उनले विज्ञप्तीमा भनेका छन् ‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु ।’
१४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचन लड्दा ४० प्रतिशत मत पाएको उल्लेख गर्दै कोइरालाले प्रतिनिधिहरुले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति अविचलित रहने वताएका छन् ।
उनले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत आफूलाई प्राप्त भएको वताउँदै आफ्नो टिमले पार्टीलाई परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।