आधारभूमि संवाददाता
काठमाडौं, पुष २
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन जित निकालेको छ ।घरेलु मैदानमा बिहीबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
एनफिल्डमा लिभरपुललाई जित दिलाउन डिओगो जोटा ,मोहम्मद सलाह र ट्रेन्ट अलेक्जेंडर-अर्नोल्डले एक-एक गोल गरे। न्युकासलका जोन्जो शेल्वेले एक गोल गरे।
खेलमा पहिलो अग्रता भने न्युकासले लिएको थियो। खेलको सातौं मिनेटमा न्युकासलका जोन्जो शेल्वेले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको २१ औँ मिनेटमा लिभरपुलका डिओगो जोटाले गोल गर्दै खेल बराबरीमा फर्काए ।
खेलको २५ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि खेलको ८७ औं मिनेटमा ट्रेन्ट अलेक्जेंडर-अर्नोल्डले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।
जितसंगै लिभरपुलले १७ खेलबाट ४० अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित न्युकासल युनाईटेडको १७ खेलबाट १० अंक छ र १९औँ स्थानमा छ ।