neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल हस्तकला महासंघको स्वर्ण महोत्सव,सरकारलाई स्वदेशी हस्तकला नै प्रयोग गर्न उपराष्ट्रपतिको आग्रह

नेपाल हस्तकला महासंघको स्वर्ण महोत्सव,सरकारलाई स्वदेशी हस्तकला नै प्रयोग गर्न उपराष्ट्रपतिको आग्रह

Dec 14th, 2021

काठमाडौ, मंसिर २८
नेपाल हस्तकला महासंघ ५० औं वर्षमा प्रवेश गरेको छ । महासंघले स्वर्ण महोत्वस बर्षभरी विभिन्न प्रवद्र्धनमुलक कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा आयोजित स्वर्ण महोत्सवको घोषणा, १० औंं हस्तकला दिवस तथा हस्तकला वर्ष सन् २०२१ को समापन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महासंघको स्वर्ण महोत्सव शुभारम्भ भएको घोषणा गरेकाछन । उनले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तराष्र्टिय जगतमा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।

उहाँले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामाग्री प्रयोग गर्न आग्रह समेत गरे । नेपाली हस्तकलाले व्यापारघाटा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । उपराष्टपति पुनले भने ‘नेपाल सर्बोच्च शिखर सगरमाथा, गौतम बुद्धको नामले विश्वभर चिनिदै आएको छ, यसमा हस्तकलासमेत थपिएको छ, नेपाली हस्तकलाले नेपाली कला संस्कृतिको संरक्षण सम्वद्र्धसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ जुन हाम्रा लागि गौरवको कुरा हो ।’

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको हस्तकला व्यवसायलाई पुनर्र्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले महासंघले स्वर्ण वर्षभरी हस्तकला व्यवसायको प्रवद्र्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरण सम्बन्धी गोष्ठी सेमिनार गर्ने, व्यापार मेला प्रदर्शनी आयोजना गर्ने, वस्तु विकास, सीप विकास, डिजाईन विकास र सीप हस्तान्तरण सम्बन्धी तालिम संचालन गर्ने, हस्तकलाको सरकारसँग बहस पैरवी गर्न आवश्यक नीति तर्जुमा तथा अनुसन्धानमुलक कार्यक्रम गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, स्वर्ण सिक्का निष्काशन गर्ने जानकारी दिए ।

त्यस्तै हस्तकलाले खेलेको भूमिकाबारे निवन्ध प्रतियोगिता आयोजना गर्ने, महासंघका पूर्व पदाधिकारी तथा सदस्यलाई क्रमश सम्मान गर्दै जाने, बृक्षारोपणका कार्यक्रम संचालन गर्ने, हेरिटेज वाक कार्यक्रम आयोजना गर्ने र स्वर्ण वर्षभरि प्रयोग गर्ने गरी लोगो अंकित मफलर बनाउने रहेको पनि अध्यक्ष शाक्यले बताए । हस्तकला महासंघका उपाध्यक्ष तथा हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताए । महासंघले हस्तकला नीतिको मस्यौदा सरकारलाई बुझाएको आठ वर्ष वितिसक्दा पनि नीति कार्यान्वयन नआएको उनले गुनासो समेत गरे । कोरोना प्रभाव, कच्चा पदार्थ अभाव, निर्यातमा महँगो कार्गो भाडा, सरकारी उपेक्षालगायतका कारण नेपाली हस्तकला संकटबीच गुज्रिरहेको उनले बताए । महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोरोनाले थलिएको हस्तकलालाई पुनर्जीवन दिने उद्देश्यका साथ महासंघले हस्तकला वर्ष घोषणा गरेर विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि निरन्तरता दिइने बताए । सो अवसरमा महासंघका संस्थापक अध्यक्ष सागर समशेर राणा, महासंघका संस्थापक सदस्य मोतिलाल सिल्पकारका साथै उत्कृष्ट निर्यातकर्ता एभरेष्ट फेसनका प्रवन्ध निर्देशक महेश्वर श्रेष्ठ, सुनिता शेर्पा , नरेश लाल श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।

महासंघका अध्यक्ष शाक्यका अनुसार ४९ औं वर्षको यात्रामा महासंघले हस्तकला क्षेत्रको दीगो विकासका लागि विभिन्न कार्यक्रम सचालन गरेको छ । हस्तकलाको अन्र्तराष्ट्रिय बजार प्रवद्र्धनका लागि सरकारको सहयोगमा अमेरिकाको न्यूयोर्कमा प्रोडक्ट अफ नेपाल(पोन) नामक कम्पनी स्थापना र संचालनमा महत्वपूर्ण भूमिका खेलेको थियो । समान उद्देश्यका अन्तराष्ट्रिय संघ संस्थासँग भातृत्वपूर्ण सम्बन्ध विकास गर्ने क्रममा महासंघले विश्वकला परिषद (वल्र्ड क्राफ्ट काउन्सिल)को सन् १९९० मा सदस्यता लिई परिषदबाट संचालन हुने कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै आएको छ । परिषदको एसिया प्रशान्त क्षेत्रको सम्मेलन महासंघले काठमाडौंमा सफलतापूर्वक आयोजना गरेको थियो । महासंघका अनुसार संगठनलाइ देशव्यापी बनाउन हस्तकला संघलाई २०६३ सालमा नेपाल हस्तकला महासंघमा परिणत गरिएको थियो । हाल १७ जिल्ला संघ, १२ वस्तुगत संघ, फर्म, कम्पनी, उद्योग, कलाकार, कालीगढ गरी चार हजार सदस्यमध्ये एकहजार सातसय क्रियाशिल सदस्य रहेका छन् ।