आधारभूमि संवाददाता
काठमाडौ २७ मंसिर
नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि आज मतदान भैरहेको छ । महाधिवेशन प्रतिनिधि ४ हजार ७ सय ४३ जना रहेका छन् । ति प्रतिनिधिले १ सय ३४ सदस्य छान्नेछन् ।
एक सभापति, २ उपसभापति, १४ महामन्त्रीसहित १३४ पदको निर्वाचन हुने भए पनि दुईजना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएकाले १३२ पदका लागि साढे ४ सयभन्दा धेरै उम्मेदवार मैदानमा छन् ।
दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका सभापतिका प्रत्यास शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।
यसैगरी मतदान स्थलमा अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान राति ९ बजेसम्म हुने भएको छ । सोमबार दिउँसो साढे ११ बजेबाट मतदान सुरु भएको थियो ।
साँझ ५ बजेसम्म १९९३ मत खसेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवार पनि धेरै र पद पनि धेरै भएकाले मतपत्रकोसमेत आकार ठूलो छ । जसका कारण मतदानमा निकै ढिलाइ भइरहेको छ । मतदान सकिए लगत्तै सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।