काठमाडौ, मंसिर २६
‘घरैबाट सुरू गरौ “,महिला हिंसा अन्त्य गरौ“’ भन्ने नाराका साथ यो वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएका इन्सेकले जनाएको छ ।
सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिएको यो अवधिमा इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । ‘१६ दिनको अवधिमा इन्सेक अनलाइनमा सुदूरपश्चिमबाहेकका ६ ओटा प्रदेशमा २८ जना महिला तथा बालिका पीडित भएका समाचार प्रकाशन भए ।’–इन्सेकले मङ्सिर २६ गते जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार बागमती प्रदेशमा सात, कर्णाली प्रदेशमा ६, लुम्बिनी र प्रदेश २ मा पाँच/पाँच, प्रदेश १ मा तीन र गण्डकी प्रदेशमा दुई जना पीडित भएका छन् । यो अवधिमा पत्नी हत्याका दुई र आमाको हत्याको एउटा समाचार प्रकाशन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘१६ दिनको अवधिमा १८ जना बालिका र १० जना महिला पीडित भए ।’–प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा कानुन कार्यान्वयनका सवालमा पीडितकेन्द्रीत र महिलामैत्री वातावरणको निर्माण गर्नुपर्ने लगायतका १३ बुँदे सुझाव पनि समेटिएको छ । ‘महिला तथा तेस्रो लिङ्गीलाई सकारात्मक विभेदको नीति अबलम्बन गरी तीनै तहका सरकारले राज्यको मुलधारमा ल्याउनु पर्ने । यस्तो नीति राजनीतिक दलहरूले पनि अपनाउनु पर्ने ।’–प्रतिवेदनमा उल्लेख छ ।