आधारभूमि संवाददाता
काठमाडौं,२६ मङ्सिर
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले लीड्सलाई ३-२ गोलले पराजित गरेको हो ।
स्ट्यामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे भने मेसन माउन्टले एक गोल गरे ।लीड्सका राफिन्हा र जो गेलहार्टले एक-एक गोल गरे ।
खेलमा पहिलो अग्रता भने लीड्सले लिएको थियो। खेलको २८ औँ मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ४२ औँ मिनेटमा चेल्सीका मेसन माउन्टले गोल गर्दै खेल बराबरीमा फर्काए ।
दोस्रो हाफको ५८ औँ मिनेटमा चेल्सीका जोर्गिन्होले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।
खेलको ८३ औँ मिनेटमा लीड्सका जो गेलहार्टले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।
तर,इन्जुरी समयको चौंथो मिनेटमा जोर्गिन्होले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।
जितसंगै चेल्सीले १६ खेलबाट ३६ अंक जोडेको छ र तेस्रो स्थानमा छ ।पराजित लीड्सको १६ खेलबाट १६ अंक छ र १५ औं स्थानमा छ ।