आधारभूमि संवाददाता
काठमाडौं २५ मंसिर
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी नदिने भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने भएपछि उनले उमेदवारी नदिएका हुन् ।
पौडेलले संस्थापन इतर पक्षमा साझा उम्मेवार छनोटका लागि पहल गरेका थिए । सहमतिका लागि प्रयास गरेपनि सो सफल हुन नसकेपछि उनी आफैं पछि हटेको जनाकारहरु वताउँछन् ।
पौडेलले केही वेर अधि एक विज्ञप्ती जारी गर्दै ‘पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा आफूले चौधौं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको वताए ।
विज्ञप्तीमा उनले उनले भनेका छन्, ‘पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ ।’
प्रतिस्पर्धाबाट आफू अलग भए पनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन पौडेलले कार्यकर्तालाई आग्रह गरेका छन् ।