neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७८’ केशव पौडेललाई प्रदान

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७८’ केशव पौडेललाई प्रदान

Dec 10th, 2021

काठमाडौ, मंसिर २४
यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशव प्रसाद पौडेललाई प्रदान गरिएको छ । २०४२ सालदेखि पत्रकारितामा सक्रिय पौडेललाई शुक्रबार सो पुरस्कार हस्तान्तरण गरिएको हो ।

नेपाल समाचार केन्द्र प्रालिद्वारा स्थापित सो पुरस्कारको राशि सम्मान पत्रसहित नगद ३४ हजार रहेको छ । नेपालमा आर्थिक पत्रकारिताको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेका स्वर्गीय पत्रकार विजयबाबु खत्रीको स्मृतिमा २०७५ सालमा केन्द्रले पुरस्कार स्थापना गरेको हो । खत्रीको दशौं स्मृति दिवसको अवसरमा गत मंसिर १२ गते यस वर्ष पौडेललाई सो पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार पौडेललाई तेस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको थियो । केन्द्रद्वारा सञ्चालित न्युज कारोबार डटकमको पाँचौं वार्षिकोत्सवको अवसरमा सो पुरस्कार हस्तान्तरण गरिएको हो । पुरस्कृत व्यक्तित्व पौडेललाई केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले सम्मानपत्र हस्तान्तरण गरिन् । सो अवसरमा उनले पौडेलजस्ता अग्रज पत्रकारलाई पुरस्कृत र सम्मानित गर्न पाउँदा समाचार केन्द्र गौरवान्वित भएको बताइन् । पत्रकार पौडेलले पनि केन्द्रले आफू र आफ्नो पत्रकारितालाई सम्झिएकोमा धन्यवाद दिए ।

पौडेल न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक हुन् । काठमाडौं–३२, कोटेश्वरका स्थायी वासिन्दा उनी सन् २००६ मा ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’बाट सम्मानित भएका थिए । खेलकुद बिटको समाचार लेखनबाट पत्रकारिताको सुरुवाती गरेका पौडेल पछिल्लो समय विकास र आर्थिक विषयवस्तुमा कलम चलाउँछन् ।

आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरेकी हुन् । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । विजयबाबु पत्रकारिता पुरस्कारबाट पहिलो वर्ष ध्रुवहरि अधिकारी र दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम पुरस्कृत भएका थिए ।