आधारभूमि संवाददता
काठमाडौँ २४ मंसिर
नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि शुरु हुँदै छ । महाधिवेशनको आज १ को बजे काठमाडौँको भृकुटीमण्डपमा उद्घाट्न हुदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ ।
उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ ।
उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिकोसमेत उपस्थिति रहने कांग्रेसले जनाएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज हुनेछ भने उम्मेदवार मनोनयन दर्ता भोलि बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । त्यस्तै उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ र साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन भोलि राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय पर्सी बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १२ स् १५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिले जनाएको छ ।
कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ।
सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुने तयारी गरिएको छ ।