neapl investment mega bank
  • गृहपृष्ठ
  • दृष्टिविहीनले सेवा दिने ‘अ फाइन डाइन इन’ रेष्टुरेन्ट सञ्चालनमा

दृष्टिविहीनले सेवा दिने ‘अ फाइन डाइन इन’ रेष्टुरेन्ट सञ्चालनमा

Dec 9th, 2021

काठमाडौ, मंसिर २३
रेष्टुरेन्ट व्यवसायमा पृथक अवधारणासहित मुलुकमै पहिलोपटक दृष्टिविहीनबाट सेवा प्रदान गरिने अ फाइन डाइन इन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । दृष्टिविहीनले सेवा पस्कने यो रेष्टुरेन्टमा सेवाग्राहीले समेत पृथक अनुभव गर्नेछन् । बिहीबारबाट सञ्चालनमा आएको दृष्टिविहीनबाट सेवा प्राप्त हुने यो रेष्टुरेन्ट नेपालमा पहिलो भएको र एसियामा पनि दुवई र भारतको हैदरावादमा मात्र यस किसिमको रेष्टुराँ सञ्चालनमा रहेको सञ्चालकहरुको भनाइ छ ।

‘डाइनिङ् इन द डार्क रुम’ नाम दिइएको यो सेवामा निश्चित मेन्यु रहनेछ र उक्त मेन्युमा भएका खानेकुरा अँध्यारो कोठामा राखिएका टेबलमा बसेर लिनुपर्नेछ । रेष्टुरेन्टले दृष्टिविहीनहरुले कसरी जीवन जिउँछन् र खानाको स्वाद आँखाले नभै जिब्रोले कसरी लिने भन्ने अभ्यास गराउने यस रेष्टुरेन्टका सञ्चालक सुरेश महर्जनले बताउनुभयो । “हामीले रेष्टुरेन्ट व्यवसायमा केही पृथक अभ्यास गरौं भनेर दृष्टिविहीनबाटै खाना सर्भ गराउन थालेका छौं,” महर्जनले भन्नुभयो, “दृष्टिविहीनले कसरी जीवन जिएका छन् र खानेकुराको स्वाद कसरी लिइरहेका छन् भन्ने महशुस अरुले पनि गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो ।”

ललितपुरको कोपुन्डोलस्थित डायमन्ड गल्लीमा अवस्थित अ फाइन डाइन इन रेष्टुरेन्टमा अँध्यारो कोठाको बीचमा केही टेबल कुर्सी रहेनछ भने यसभित्र मोबाइल र अन्य विद्युतीय सामग्री लैजान निषेध गरिएको छ । रेष्टुराँमा रहेका अँध्यारा कोठामा जानुपूर्व त्यहाँको जानकारी सेवाग्राहीलाई गराइन्छ । अनि दृष्टिविहीन कर्मचारीको काँधमा हात राखेर सेवाग्राहीलाई त्यही अन्धकार कोठामा लगेर टेबलमा बस्न सहयोग पु¥याउनेछन् ।

रेष्टुरेन्टका सञ्चालकहरुका अनुसार कोभिड संक्रमणका कारण धेरैको रोजगारी गुमेपछि दृष्टिविहीनको अवस्थाबारे आफूहरुलाई चिन्ता लागेकै कारण जोखिम मोलेर यसमा लगानी गरिएको हो । थोरै संख्यामा भए पनि दृष्टिविहीनलाई रोजगारी दिनकै लागि यो रेष्टुरेन्ट खोलिएको हो । हाल यहाँ दस जना दृष्टिविहीनले रोजगारी पाएका छन् । उनीहरूलाई यसअघि तीन महिनाको तालिम पनि दिइएको छ । अन्य शाखाहरूमा पनि दृष्टिविहीनलाई नै रोजगारी दिने योजना सञ्चालकको छ ।

सुरुमा बुकिङ गरेर मात्र प्रवेश गर्न सकिने यो रेष्टुराँमा सेवाग्राहीले रातो, नीलो अथवा हरियो नाममा मात्र खाना मगाउन सक्नेछन् । अँध्यारोमा खाँदा कुनै समस्या नहोस् भनेर त्यस्तै किसिमको खाना छनोट गरिएको र साना–साना आकारमा मात्र परिकार बनाइने सञ्चालक महर्जनले बताउनुभयो । करिब डेढ करोड रुपियाँ लगानीमा सञ्चालनमा आएको यो रेष्टुरेन्टमा शान्त वातावरणमा कफी हाउस, बार लगायतका अन्य सुविधा पनि उपलब्ध छन् ।