आधारभूमि संवाददाता
काठमाडौं,मंसिर २०
गत भदौमा झडै ३२ सयमा पुगेको सेयरबजार राष्ट्र बैंकको निर्देशन र बजारमा तरलता अभावका कारण अहिले २५ सय १३ अंकमा आइपुगेको छ । महामारी केहि नियन्त्रणमा आएपछि आर्थिक गतिबिधी बढेका छन् । जसका कारण बैंकमा अहिले कर्जाको माग उच्च छ ।
कर्जा प्रदान गरेबमोजिम निक्षेप संकलन नहुँदा बैंकहरुमा तरलता अभाव भएको हो । यो सँगै राष्ट्र बैंकले कर्जा पुँजी निक्षेप अनुपात हटाएर बैंकहरुले कर्जा निक्षेप अनुपात अर्थात सिडि रेसियो लागू गरेसँगैपनि बजारमा लगानीयोग्य रकमको अभाव भएको हो ।
हुनत ४५ लाख सेयरलगानीकर्ता मध्ये २ सय जना सेयरलगानीकर्ता मात्रै १२ करोड भन्दा ऋण लिने लगानीकर्ता छन् । तर, उनिहरुले सेयर खरिदका लागि लिएको ऋण तिर्न सेयरबेच्दै गर्दा यसले बजारमा ठूलो असर पार्न थालेको छ ।
बैंकको ऋण तिर्न ठूला लगानीकर्ताले सेयर बेच्न थालेका छन् भने साना लगानीकर्तालाई बजार घट्ने त्रासका कारण आइतबार मात्रै पनि सेयर बजार ७२ दशमलव तीन दुई अंकले घटेको छ ।
राष्ट्र बैंकको निर्देशन बमोजिम एकै बैंकबाट ४ करोड र समग्र बैंक तथा वित्तीय प्रणालीबाट १२ करोडभन्दा बढि ऋण लिएका सेयरकर्जा नविकरण हुन छाडेपछि त्यसको सिधा असर सेयरबजारमा परेको हो ।
आइतबार सेयरबजारमा सबैपरिसुचक घटेका छन् । जसमा जिवन बिमाको परिसुचक सबैभन्दा बढि अर्थात ३ सय ७२ अंकले घटेको छ । त्यस्तै क बर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स १४ दशमलव एक सात अंकले घटेको छ । बजारमा २ सय २६ कम्पनीको ८९ लाख २० हजार कित्ता किनबेच हुँदा ४ अर्ब ९ करोडको कारोबार भएको छ ।
घट्दो बजारमा आइसिएफसि फाइनान्स, सबैको लघुबित्त र कर्णाली बिकास बैंकका लगानीकर्ताले सबैभन्दा बढि गुमाएका छन् । तर, न्यादि हाइड्रोपावर, नयाँ सारथि लघुबित्त र मैलुङ खोला जलबिद्युत आयोजनाका लगानीकर्ताले भने कमाउनेको सूचिमा अग्रस्थानमा रहेका छन् । त्यस्तै नेशनल हाइड्रो, हिमालय डिस्टीलरी र नेपाल दुरसञ्चारको भने सबैभन्दा बढि कारोबार भएको छ ।