आधारभूमि संवाददाता
काठमाडौं,१९ मङ्सिर
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।शनिबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई ३-१ गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
म्यानचेस्टर सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भाले दुई गोल गरे भने रहिम स्टर्लिंगले एक गोल गरे ।वाटफोर्डका कुचो हर्नान्डेजले एक गोल गरे ।
खेलको चौंथो मिनेटमा रहिम स्टर्लिंगले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ३१ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
दोस्रो हाफको ६३ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।
खेलको ७४ औं मिनेटमा वाटफोर्डका कुचो हर्नान्डेजले एक गोल फर्काएका थिए ।
जितसंगै सिटीले १५ खेलबाट ३५ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित वाटफोर्डको १५ खेलबाट १३ अंक छ र तालिकाको १७ औं स्थानमा छ ।