neapl investment mega bank
  • गृहपृष्ठ
  • सामुदायिक पुँजी निर्माण गर्न पत्रकारहरु पनि सहभागी हुनुपर्नेमा जोड

सामुदायिक पुँजी निर्माण गर्न पत्रकारहरु पनि सहभागी हुनुपर्नेमा जोड

Dec 1st, 2021

ललितपुर, मंसिर १५
सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएकाछन । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दे उनले पत्रकारहरूले पत्रकार सहकारी बनाएर जान सक्ने बताएका हुुन ।

पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारहरूको सहकारी समूह बनाउन सकिने मन्त्री शर्माले बताएका हुुन । ‘पत्रकारिता मात्र पूर्ण पेसा नभएर अरू हिसाबले पनि आत्मनिर्भर हुनका लागि पत्रकारहरूको सहकारी समूह बनाएर तपाईँहरू सञ्चालन गर्न सक्नुहुन्छ’, उनले भने ‘एकातिर आत्मनिर्भर हुँदै पनि जाने र सामुदायिक शक्ति तथा क्षमतालाई पनि विकास गर्दै जाने गर्न सक्नुहुन्छ ।’ त्यसबाट समग्र सामाजिक तथा राजनीतिक विचारलाई पनि स्थापित गर्दै लान सकिने उनले बताए ।

मन्त्री शर्माले तत्काल राष्ट्रिय पुँजी निर्माण हुने सम्भावना कम रहेको बताउनुहुँदै पहिले सामुदायिक पुँजी निर्माण गर्नुपर्नेमा जोड दिए । उनले व्यक्तिगत प्रतिस्पर्धाहरूलाई पनि कायम गरी समुदायलाई बलियो बनाउन स्रोत र साधनको स्वामित्व समुदायलाई प्रदान गर्नुपर्ने बताए ।
पत्रकारहरूलाई गलत अवस्थामा पार्टीको आलोचना गर्ने स्वतन्त्रता रहेको पनि उनले बताए । आस्थाकै आधारमा गलत कार्य तथा प्रवृत्तिको आलोचना गर्न नपाउने भन्ने नहुने मन्त्री शर्माले बताएका हुुन । ‘प्रेस सेन्टर पार्टीसँग सम्बन्धित संगठन होला, तर पार्टीको मान्छेले गल्ती गर्दा उसको आलोचना गर्ने छुट तपाईँहरूसँग छ’, उनले भने, ‘त्यसकारण तपाईँहरूसँग आफ्नो विचार राख्ने कुरामा स्वतन्त्र हुनुहुन्छ ।’