आधारभूमि संवाददाता
काठमाडौं,मंसिर ९
कोरोना महामारीले थलिएको अर्थतन्त्र पुरानै अवस्थामा फर्कन लागेको देखिएको छ। बिस्तारै रोजगारी र उत्पादनसँगै यसको बिक्री पनि बढेको छ। २०७७ असारमा ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग तथा व्यवसायहरुले २०७८ कात्तिकमा आइपुग्दा ९७.२ प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको पाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
उद्योग तथा व्यवसायहरुले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग तथा व्यवसायहरुको औसत तलब— ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ ।
त्यस्तै कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६.१ प्रतिशत पुगेको देखिएको छ । खानी तथा उत्खनन र विद्युत्, ग्याँस तथा पानी लगायत क्षेत्रका उद्योग तथा व्यवसायहरुको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ
त्यसैगरि २०७७ असारमा ४.१ प्रतिशत उद्योगतथा व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कार्तिकमा बढेर ८७.२ प्रतिशत पुगेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।
२०७७ असारको तुलनामा उद्योग तथा व्यवसायहरुको उत्पादन र कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन र कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेको छ ।
तर, होटल तथा रेष्टुलेन्ट क्षेत्रको सुधार तुलनात्मक रुपमा कम रहेको देखिएको छ । २०७७ असारको तुलनामा उद्योगतथा व्यवसायहरुले प्रदान गर्ने रोजगारीको अवस्थामा सुधार भइ कोभिड पूर्वको अवस्था नजिक पुगेको पाइएको छ ।