neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौमा भन्दा कर्णालीमा जग्गाको भाउ बृद्धि !

काठमाडौमा भन्दा कर्णालीमा जग्गाको भाउ बृद्धि !

Nov 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ५
आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा सबैभन्दा बढि घरजग्गाको भाउ कर्णाली प्रदेशमा बढेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । बागमती प्रदेश अर्थात काठमाडौं लगायत मूख्य शहर भएको क्षेत्रमा घरजग्गाको भाउ ५.९५ प्रतिशतले बढ्दा कर्णालीमा भने २३.८८ प्रतिशतले बढेको देखिन्छ ।

प्रदेश नं. २ मा १७.४२ प्रतिशत, लुम्बिनी प्रदेशमा १४.४५ प्रतिशत, प्रदेश नं. १ मा १४.२० प्रतिशत, गण्डकी प्रदेशमा ११.८३ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ६.३५ प्रतिशतले बृद्धि भएको राष्ट्र बैकले जनाएको छ । यो मालपोत कार्यालयमा उल्लेख गरिएको मूल्यका आधारमा निकालिएको रिपोर्ट हो ।

तर बैंकले प्रदान गरेको रकमको आधारमा भने अलि फरक देखिन्छ । ‘आर्थिक वर्ष २०७६/७७ मा प्रदेश नं. २ मा सबैभन्दा धेरै ४३.११ प्रतिशतले मूल्य बढेकोमा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै प्रतिशत १९.१९ मूल्य बढेको देखिएको छ । ’ राष्ट्र बैंकको रिपोर्टमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा घर भएको जग्गाको सूचकाङ्क ४४.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको निष्कर्ष छ । जग्गाको मूल्य सूचकाङ्क १५.६२ प्रतिशतले बृद्धि हुँदा कुल घरजग्गा राष्ट्रिय सूचकाङ्क १९.७३ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा भने घर भएको जग्गाको मूल्य सूचकाङ्क ४.७४ प्रतिशतले वृद्धि भएको र जग्गाको सूचकाङ्क १२.० प्रतिशतले बढेको राष्ट्र बैकको निष्कर्ष छ ।

घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल प्रभाव पार्न सक्ने सम्भावना भएकाले यस क्षेत्रको मूल्य स्थिति सम्बन्धमा जानकारी राख्नुपर्ने हुन्छ । यसका लागि घरजग्गा क्षेत्रको मूल्य सूचकाङ्क निर्माण गरी घरजग्गा मुद्रास्फीति मापन कार्य आवश्यक भएको राष्ट्र बैंक बताउँछ । अब यस्तो रिपोर्ट प्रत्येक तीन महिनामा निकाल्ने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।