neapl investment mega bank
  • गृहपृष्ठ
  • रेमिट्यान्समा आयो कमि, सञ्चित बिदेशी मुद्राले अब ७.८ को मात्रै आयात धान्ने

रेमिट्यान्समा आयो कमि, सञ्चित बिदेशी मुद्राले अब ७.८ को मात्रै आयात धान्ने

Nov 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर १

नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार असोजमसान्तसम्म विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आई २ खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

यता असोजमसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने उल्लेख्य रुपमा वृद्धि भई ६६ हजार ३ सय १६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।

रेमिट्यान्समा आएको कमिको सोझो असर भने विदेशी विनिमय सञ्चितीमा परेको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ असोज मसान्तमा ६.५ प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको देखिन्छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ सार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा ८.० प्रतिशतले कमी आई ११ खर्ब ४५ अर्ब २९ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थासँग मात्रै रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ असोज मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई १ खर्ब ७४ अर्ब ३ करोड पुगेको छ ।

यो वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।