काठमाडौ, कात्तिक २९
बीमा समितिले निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ ।
यस निर्देशिका बमोजिम जारी गरिने बीमालेख व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख गरी दुई प्रकारका हुनेछन् । दुर्घटना बीमालेख एकवर्ष वा सोभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने व्यवस्था रहेको छ । एक वर्षका लागि जारी गरिने बीमालेखको एक महिनासम्मका लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एक महिनादेखि तीन महिनासम्मका लागि वार्षिक बीमाशुल्कको ४० प्रतिशत, तीन महिनादेखि छ महिनासम्मका लािग वार्षिक बीमाशुल्कको ६० प्रतिशत र छ महिनादेखि एक वर्षसम्मका लागि शत्प्रतिशत बीमादर तोकिएको छ ।
व्यक्तिगत दुर्घटना बीमाका लागि न्यूनतम् प्रतिव्यक्ति प्रतिहजार दुई रुपियाँ बीमादर तोकिएको छ । सामूहिक दुर्घटना बीमातर्फ दुई जनादेखि २५ जनासम्मको समूहका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम् दुई रुपियाँ, २६ जनादेखि एकसय जनासम्मका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपियाँ ७५ पैसा र एकसयभन्दा बढीका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपियाँ ५० पैसा बीमादर तोकिएको
छ ।
यसैगरी, बीमाशुल्क गणना गर्दा प्रति बीमालेख एकसय रुपियाँभन्दा कम बीमाशुल्क लिन नपाइने र बीमालेख जारी गर्दा बीमाशुल्क दर तथा बीमाशुल्क रकम प्रष्ट ढङ्गले खुलाई गणना गर्नुपर्ने प्रावधान रहेको छ । बीमकले यस निर्देशिका बमोजिम व्यक्ति वा व्यक्तिहरुको समूहका लागि मात्र बीमालेख जारी गर्न सक्ने र बीमा प्रस्ताव फारम, तालिका, सम्पुष्टी, बीमालेख तथा सोसँग संलग्न अनुसूचीलाई समग्र बीमा करारको रुपमा लिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।
बीमालेखमा उल्लेख गरिएको बीमा अवधिभित्र दुर्घटनाबाट बीमितकोमृत्यु भएमा बीमाङ्कको अतिरिक्त दुर्घटना बीमावापत बीमाङ्क रकम रु. दुईलाख बीमकले बीमितलाई भुक्तानी गर्नुपर्ने व्यवस्था समेत रहेको छ ।