काठमाडौँ, २८ कात्तिक
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालले विद्युत् व्यापारका लागि तथ्यगत आधार प्रस्तुत गरे निजी क्षेत्रलाई पनि अनुमति दिने बताउनुभएको छ । परम्परागत तवरले भन्दा पनि परिवर्तित यथार्थमा रहेर जलविद्युत क्षेत्रका निर्णय लिइने स्पष्ट पार्दै उहाँले निजी क्षेत्रले पनि नयाँ ढङ्गले सोच्नुपर्ने समय आएको बताउनुभयो ।
शुक्रबार मन्त्रालय पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल९इपान०लाई मन्त्री भुसालले विद्युत् व्यापार गर्न सक्छौँ भन्ने विश्वासिलो आधार प्रस्तुत गरे सरकारले अनुमति दिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तर्क र बहस मात्र होइन, हामी विद्युत् बिक्री गर्न सक्छौँ भन्ने ग्यारेन्टी गरेर आउनुहोस्, धेरै विलम्ब नगरिकन अनुमति दिउँला ।” विद्युत व्यापार संवेदनशील विषय भएको बताउँदै मन्त्री भुसालले विद्युत् परम्परागत तवरलेभन्दा पनि जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भुसालले विद्यमान चुनौतिलाई सामना गर्दै अगाडि बढ्न सके व्यावसायिकरुपमा निजी क्षेत्र सफल र व्यवस्थापकीय पाटोमा पनि सफल हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । विकास नियमित हुने प्रक्रिया भएको र त्यसभित्रका जटिलतालाई स्वाभाविकरुपमा लिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “व्यावसायिक रुपमा निजी क्षेत्र सफल हुने, नीतिगत र राजनीतिक रुपमा मन्त्रालयको नेतृत्व सफल हुने र समग्रमा सबै सफल हुने नीति मन्त्रालयले बनाउँछ ।”
सो अवसरमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो नेतृत्व आएपछि विद्युत खपतसहितका अन्य महत्वपूर्ण निर्णय लिएर काम गरिरहेको स्पष्ट पार्नुभयो । जलविद्युत विकास र व्यापारका विषयमा मन्त्रालय र प्राधिरण गम्भीर भएर लागेको बताउँदै उहाँले निजी क्षेत्रले मागको विद्युत प्राधिकरणले तत्काल स्वीकृत गरी दिए पनि निजी क्षेत्रका पूर्वाधार तयार नभएकाले तत्काल खपत हुने स्थिति नरहेको जानकारी दिनुभयो ।
विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देवले विभागले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा प्रक्रियागत ढिलासुस्ती हटाउन विभाग लाग्ने विश्वास दिलाउनुभयो । सो अवसरमा इपानका अध्यक्ष कृष्ण आचार्यसहितका प्रतिनिधिले विद्युत् क्षेत्रमा देखिएका समस्याबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।