आधारभूमि संवाददाता
काठमाडौं,कात्तिक २५
नियामक निकाय धितोपत्र बोर्ड नेतृत्व विहीन हुँदा सेयर निस्कासन सम्बन्धी निर्णय अघि बढ्न सकेको छैन । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई भित्रि कारोबारमार्फत् सेयर हातपारेको आरोप लागेपछि अर्थ मन्त्रालयले असोज १९ गते बर्खास्त गरेको थियो । त्यसपछि बोर्ड नेतृत्वविहीन छ ।
आइपीओ निष्काशनका लागि अध्ययन तथा स्वीकृतिमा ढिला भएको छ । ।२४ वटा कम्पनीले ६ अर्ब ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर अर्थात् आइपीओ निस्काशनको तयारी थालेका छन् । तर बोर्डले अध्ययनको काम अघि बढाए पनि निर्णयमा ढिलाई गरेको छ।
बोर्डले ६ वटा कम्पनीको आइपीओ जारी गर्न प्रक्रियागत रुपमा सबै काम सकेको छ । बिन्ध्यबासिनी, हिमालयन, बलेफी, ग्रिन भेन्चर, दोर्दी खोला जलविद्युतआयोजना र एनइएसडिओ समृद्ध लघुबित्तको १ अर्ब ८४ करोड रुपैयाँ बराबरको १ करोड ८४ लाखकित्ता सेयर जारी गर्ने सबै काम सकिएका छ । तर नेतृत्व नहुँदा बोर्डले निर्णय गर्न सकेको छैन ।
त्यसैगरी बोर्डले डिस मिडिया,अपर सोलु, अपर हेवाखोला, रिभर फल्स जलविद्युत् आयोजना, जाल्पा सामुदायिक, उपकार, राष्ट्र उत्थान लघुबित्त र आइएमई लाइफ इन्स्योरेन्सको पहिलो चरणको कागजात अध्ययन सकेको छ । यी ८ कम्पनी १ अर्ब ८७ करोड बराबरको १ करोड ८७ लाख कित्ता सेयर जारी गर्ने तयारीमा छन् ।
त्यसैगरी अन्य १० कम्पनीको २ अर्ब ८८ करोड रुपैयाँ बराबरको २ करोड २१ लाख कित्ता सेयरका बारेमा भने बोर्डले अध्ययन गरिरहेको छ ।