neapl investment mega bank
  • गृहपृष्ठ
  • बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

Nov 7th, 2021

म्याग्दी, २१ कात्तिक /रासस

यहाँस्थित बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ । पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ ।

पन्ध्रबाट ५० शय्यामा स्तरोन्नति भएको पाँच वर्षसम्म पनि अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाउन र दरबन्दीअनुसारका जनशक्ति व्यवस्थापन हुनसकेको छैन । फरक–फरक ठाउँमा अस्थायी संरचना बनाएर सघन उपचार, डायलायसिस, कोभिड र बालरोग उपचार कक्ष थपेर ६४ शय्याको सेवा सञ्चालन गरेको छ ।

अस्पतालमा कार्यरत अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी करारका भएका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले जानकारीदिनुभयो । “नौ चिकित्सक र सात स्टाफ नर्सले छ वार्ड चलाउनुपरेको छ”, उहाँले भन्नुभयो, “सबै दरबन्दीको पदपूर्ति नहुँदा कार्यरत चिकित्सक र नर्सलाई कार्यबोझ परेको छ ।”

अस्पतालमा हाल स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा सघन उपचार कक्ष (आइसीयू) सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

“आइसीयू कक्ष नियमितरूपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने चिकित्सक ९एनएसथीसियोलोजिस्ट० आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “अस्पतालमा हाल मौजुदामध्य थप छ जना चिकित्सक र १२ स्टाफ नर्स आवश्यक पर्छ ।” सर्वसाधारणले समयमा सेवा नपाउने, भएका जनशक्तिलाई कामको बोझ हुने र जिल्ला बाहिर जानुपर्ने समस्या भएको स्थानीयवासी बालकृष्ण सुवेदीले बताउनुभयो । गत आर्थिक वर्ष २०७७/७८ मा ३५ हजार १७४ जनालाई सेवा दिएको अस्पतालबाट २० जनाले डायलायसिस, १२३ वटा शल्यक्रियामार्फत गरिनेसहित ७३४ जनाले प्रसूति र २०३ जना कोरोना सङ्क्रमितको उपचार भएको छ ।

निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका रबि सिंहसमेत संलग्न महादेव–खिम्ती–गल्वा–रफिना जेभीले विसं २०७३ मङ्सिरमा रु १८ करोड ८४ लाखमा ठेक्का लिएको बेनी अस्पतालको भवन निर्माणकार्य एक वर्षयता अलपत्र छ ।

विसं २०७६ मङ्सिरमा सकिनुपर्ने चारतले तीनवटा भवन निर्माणको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका प्रमुख प्रभाकरलाल कर्णले बताउनुभयो । “विभिन्न चरणमा भएको लिखित र मौखिक प्रतिबद्धताअनुसार भवन निर्माणलाई गति दिन नसकेपछि ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेका छौँ”, उहाँले भन्नुभयो, “जमानी बसेको बैंकलाई पहिलो चरणको पत्र काटेका छौँ । अब पत्रिकामा सार्वजनिक सूचना जारी गर्छौँ ।”

नयाँ भवन बनाउन पुरानो भत्काइएपछि बहिरङ्ग कक्ष अस्थायी भवन, आकस्मिक र अन्तरङ्ग कक्ष प्रशासनिक भवनबाट सञ्चालन भएको छ । स्वास्थ्य कार्यालयको भवनमा प्रशासन, व्यवस्थापन समितिको कार्यालय, डायलायसिस र आइसीयू कक्ष राखिएको अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिएर दरबन्दीअनुसारका जनशक्तिको व्यवस्थापनमा माथिल्लो निकायले वास्ता नगरेको व्यवस्थापन समितिका अध्यक्ष कटुवालले गुनासो गर्नुभयो ।